

काठमाडौँ । प्रहरी र केवलकार विरोधी पक्षबीचको पटकपटकको झडपपछि स्थिति असामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्फ्यु आदेश जारी गरेको छ। ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका बजार र आसपासका क्षेत्रमा आइतबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
कुनै पनि हालतमा ताप्लेजुङको पाथिभरा क्षेत्रमा जन्मेको कलकार बनाउन नदिने स्थानीयको अडान र जसरी पनि बनाउने सरकारको निर्णय ढिपीका कारण पछिल्लो समय सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ। शनिबार मात्रै पनि प्रहरी र स्थानीय बीच झडप हुँदा छ प्रहरीसहित ७ जना घाइते भएका थिए। सो घटनापछि परिस्थिति असामान्य बन्न लागेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै निषेध आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो ।
प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण २०८१–११–११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आदेश जारी गरिएको छ ।’