

फुङ्लिङ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर बिहिबार दिउँसो प्रदर्शनकारी र आन्दोलनरत पक्षबीच हिंसात्मक झडप भएको छ। जसमा परी १२ जना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएका छन् ।
आन्दोलनकारीसँग मन्त्री स्तरीयवार्ताबाट समेत सहमति हुन नसकेपछि केवलकार बनाउनु हुँदैन भन्ने पक्ष आन्दोलनरत छ। सरकार भने स्थानीय मर्मभन्दा बाहिर गएर जबरजस्ती केवलकार बनाउनुपर्छ भन्ने अडानमा लाग्दा झडप हुन पुगेको हो।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् ।
‘नो केबलकार समूह’ले पूर्वघोषित कार्यक्रमअनुसार आज पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबलकारविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । नो केबुलकार समूहको प्रदर्शन असामान्य हुने स्थिति बनेपछि अश्रुग्यास प्रहार गर्नुपरेको शर्माको भनाइ छ ।
आन्दोलनकारीले शुक्रबार रातिदेखि ताप्लेजुङ घर यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्।
उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन् ।