

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् । आजका लागि ओलीलाई १० सांसदले प्रश्न सोधेका छन् भने लगभग सबैको ओलीले उत्तर दिएका छन् ।
तर सांसद प्रभु शाहले सोधेको प्रश्नमा भने ओलीले उत्तर दिएनन् । सांसद साहले ७० लाख युवाले विदेशमा कमाएको रकम हुन्डी कारोबारीमा मिलान गराएको विषयमा मौन बसेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । उनले भनेका थिए, ‘झन्डै ७० लाख नेपाली युवाहरू वैदेशिक रोजगारीमा छन् । यसअनुसार ४० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेसम्मको रिपोर्टले देखि १४ खर्ब मात्रै आउनेवाला छ। मेरो प्रश्न प्रधानमन्त्रीसँग छ। नेपाली युवाहरूले विदेशमा पसिना बगाएर कमाएको रकम हुन्डी कारोबारमा मिलान भइरहँदा तपाईं किन मौन बस्नु भयो? नेपाली युवाहरू भ्रष्टाचारीको कालोधन साट्न मरिमेटिरहेका छन् ? ‘
यो प्रश्नपछि प्रधानमन्त्री ओली रिसाए । जवाफमा ओलीले भने, ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका घृणा आक्रोश अपमानजनक छन् । संसद्जस्तो सम्मानजनक ठाउँमा विदेश युवा पठाएर भन्ने भाषा बोलेर के लाभ भयो ? के मेनपावर व्यवसायी हो ? तपाईंले भनेको ७० लाख यो सात महिनामा गएका हुन् ?’ यति भनेपछि प्रधानमन्त्री ओलीले त्यसपछि ओलीले साहको प्रश्नको जवाफ दिन आवश्यक नभएको बताए।