

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई जथाभावी नबोल्न राष्ट्रिय सभाले चेतावनी दिएको छ । सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिमाथि खेद व्यक्त गर्दै अब आइन्दा यस्ता अव्यावहारिक र अमर्यादित भनाइ नदिन चेतावनी दिइएको हो ।
राष्ट्रियसभाको आजको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ, भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति आपत्ति छ”, उनले भने।
मिश्रसहित धेरै सांसदले शाहीको भनाइप्रति आपत्ति जनाएपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भनाइप्रति खेद व्यक्त गर्दै यस्तो भनाइ अब आइन्दा नदिन निर्देशन पनि दिए ।