

काठमाडौँ । नेकपा माओवादी केन्द्र र सम्बद्ध अन्य माओवादी दलहरुले आज ३० औँ जनयुद्ध दिवस मनाउँदै छन्। २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको सम्झनामा हरेक वर्ष माओवादीले यो दिवस मनाउँदै आएको छ।
अघिल्लो वर्ष सरकारले सार्वजनिक बिदा दिँदै राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको जनयुद्ध दिवसमाथि सर्वोच्च अदालतले यस वर्ष प्रतिबन्ध लगाएको छ। जनयुद्ध शब्द गैर संवैधानिक रहेको भन्दै यसलाई राष्ट्रिय दिवसको रुपमा नमनाउन सर्वोच्चले आदेश जारी गरेपछि सरकारी तवरबाट दिवस मनाउन प्रतिबन्ध लागेको हो।
जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ’, उनले भनेका छन्।