

काठमाडौं । बालहिंसा गर्ने सांसदलाई सरकारले उन्मुक्ति दिन लागेको भन्ने समाचार आएपछि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी सांसद रेखाकुमारी शर्मामाथि अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाइसकेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गरेपछि त्यसको फाइल आयोगले झिकाएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरू गरेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाले गरेको विशेष एक्सनमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले छ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । जसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत सामाजिक सञ्जालमा राखेपछि यो विषय झनै भाइरल भएको थियो । समाचारपछि आयोगले स्व-विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान सुरु गरेको उपसचिव एवम् सहायक प्रवक्ता श्यामबाबु काफ्लेले उल्लेख गरेका छन्।
उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकील कार्यालयसमक्ष पेस गरेको रायसहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन पनि आयोगले आजै पत्राचार गरेको छ।