

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा रहँदा प्रधानमन्त्री भएपछि बिस्तारै आफ्नो पद घटुवा गर्दै गएका बाबुराम भट्टराई पछिल्लो समय खुलेको नेसपा नयाँ शक्तिको महाधिवेशनमा पनि सर्वसम्मत नेतृत्वमा चयन हुन सकेनन् ।
बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को महाधिवेशनअन्तर्गत आजबाट नेतृत्व चयन प्रकिया सुरु हुँदा बाबुराम भट्टराईविरुद्ध उनकै पार्टीको विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन्। नेसपा (नयाँशक्ति)को महाधिवेशन विगत तीन दिनदेखि काठमाडौँमा जारी छ।
निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ। पार्टी अध्यक्षका लागि डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको हो । चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनमा अध्यक्षसमेत भइसकेका नेता हुन्। उम्मेदवारको दाबी विरोधका लागि मंगलबार बिहान साढे ९ बजेसम्मको समय निर्धारण गरिएको छ।