

काठमाडौँ । देशभरको भ्रष्टाचार निवारणका लागि भन्दै खुलेको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान्यायाधीश प्रकाश मानसिंह राउत अनुपस्थित भएका छन्। सामान्यतया राष्ट्रपतिले उद्घाटन गर्ने यस्ता कार्यक्रमहरूमा सम्माननीय अर्थात् प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत सबैको उपस्थिति रहने भएपनि हिजोको कार्यक्रममा भने दुई सम्माननीयहरू अनुपस्थित भएका हुन्।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ भोलि बुधबारका लागि तोकिएकोले प्रधान न्यायाधीशको हैसियतले राउत पनि सोही संवैधानिक इजलासको न्यायाधीश रहने छन् । सोही अवस्थामा कन्फ्लिक्ट अफ इन्टरेस्ट को विषय उठ्न सक्ने भन्दै प्रधानन्यायाधीश राउत सो कार्यक्रममा उपस्थित नभएको बुझिएको छ।
तर राज्यको कार्यकारी प्रमुखका रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिको कारण भने अचम्म लाग्दो र हास्यास्पद खालको रहेको छ। आइतबार राति अख्तियार प्रशासनलाई खबर पठाउँदै प्रधानमन्त्री निवास बालुवाटारबाट बिहान ८:४५ बजे प्रधानमन्त्रीको उपस्थिति हुने बताइएको थियो। तर सोमबार बिहान फेरि अर्को सन्देश पठाउँदै प्रधानमन्त्री निवास सचिवालयले प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन नसक्ने सूचना दियो । त्यसको कारण थियो रातभर आन्तरिक भेटघाटमा रहेका कारण बिहान ४ बजे मात्रै प्रधानमन्त्री सुतेकाले उनको स्वास्थ्यको ख्याल गर्दै उनी कार्यक्रममा सहभागी हुन नसक्ने बताइएको थियो।
प्रधानमन्त्रीको यो कारणलाई धेरैले बनावटी कारण मात्रै भनेर टिप्पणी गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम हलमा आयोजना गरिएको कार्यक्रममा पुग्नका लागि प्रधानमन्त्री ओली निवास बालुवाटारबाट करिब १० मिनेटको समय लाग्छ। १० मिनेटको बाटोमा उपस्थित हुन नसक्नुलाई उनले बहाना बनाएको बाहेक केही नभएको टिप्पणी गर्ने गरिएको छ। यसको पछिको कारण के हो भन्ने विषय भन्दै बाहिर आइसकेको छैन।
केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संसद्को सम्बोधनलाई पनि प्रधानमन्त्री ओलीले यस्तै कारण देखाएर बहिष्कार गरेका थिए । दिनभर अत्यन्त व्यस्त रहेका कारण संसदमा उपस्थित हुन नसकेको बताएका ओलीले साँझमा भन्ने केही टिकटकरहरुसँगको भेटघाटको तस्बिर सार्वजनिक गरेपछि आलोचित बन्न पुगेका थिए। अहिले पनि ओलीको अनुपस्थितिको कारण यस्तै बहानाबाजी रहेको हुनसक्ने अनुमान गर्ने गरिएको छ।