

काठमाडौँ । विवादित धर्मगुरु विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले पोखरामा कोटी होमका लागि भन्दै ऐतिहासिक रुख र चौताराका रुख काटी उराठ बनाएका छन्। आगामी वैशाखदेखि चार महिनासम्म कोटीहोम लगाउने भन्दै समिदाका लागि पोखराका चौतारा र ऐतिहासिक रुख कटान गरिएको हो।
मानव सेवा आश्रमका संस्थापक समेत रहेका उनले मानव सेवा आश्रम निर्माणका लागि भन्दै चार महिनासम्म हुने भनिएको गण्डकी सत हत्री कोटीहोम विराट महायज्ञका लागि समिदा बनाउनका लागि रुख काटेका हुन् ।
रुख काट्ने बेलासम्म बेवास्ता गर्दै आएको पोखरा महानगरपालिकाले अहिले भने सडक छेउका पुराना र ऐतिहासिक चौतारो कटान गरिएको बारे कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई पत्र पठाएको छ।
लेकसाइडमा रहेको नेपाल ट्रस्टको जग्गामा कोटीहोमका लागि स्वीकृति लिइसकेको बताइएको छ। तर महानगरपालिकाले अहिले सो स्वीकृति रद्द गर्नका लागि लेखी पठाउने निर्णय भएको महानगरपालिकाले जनाएको छ। लेकसाइडस्थित जग्गा सहरको अति व्यस्त स्थान विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार भएको हुँदा त्यति लामो कोटीहोमले पर्यटन आवागमनमा असर गर्ने हुनाले तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।