

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाका जिल्ला उपसभापति धरौटी तिर्न नसकेर जेलचलान भएका छन् ।
जिल्ला अदालत काठमाडौँमा सहकारी पीडितको तर्फबाट सभापति रवि लामिछाने विरुद्ध बहस गरेको भन्दै अदालत बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको अभियोगमा रास्वपा हुम्ला जिल्ला उपसभापति महानन्द जैसीसङ्ग एक लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
जिल्ला अदालत काठमाडौँले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो । दुई जना धरौटी बुझाएर रिहा भइसके पनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसीलाई भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।