

काठमाडौं । चितवन जिल्ला अदालतले साहारा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको छ । बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई सो रकम धरौटी बुझाएर रिहा गर्न प्रहरीलाई आदेश दिएको हो ।
हिजोबाट सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई बुधबार प्रहरी हिरासतमा पठाइएको थियो । आज रविको तर्फबाट वरिष्ठअधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।
यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो भने सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी मागेको थियो । सबै अदालतमा रविले धरौटी बुझाइसकेका छन् ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।