

काठमाडौं । जनता समाजवादी पार्टीका उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री मागेपछि आज प्रतिनिधि सभामा पेश गर्ने भनिएको विभिन्न अध्यादेश टेबुल गर्न सत्ता पक्ष पछि हटेको छ । आज दिउँसो १ बजे बसेको सङ्घीय संसद् (प्रतिनिधिसभा)को बैठकमा सबै अध्यादेश टेबुल गरेर सम्भवत: आजै छलफल अघि बढाउने तयारी गरिएको थियो ।
तर उपेन्द्र यादवले सहयोग नगर्दा राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको हो । यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो ।
आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेका छन् ।
प्रतिनिधिसभामा प्रमुखप्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकलाई सम्बोधन गरेका छन् । सरकारकातर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पनि बैठकलाई सम्बोधन गरेका छन् ।