

काठमाडौं । पछिल्लो समय अध्यादेशमा साथ माग्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता पक्ष र प्रतिपक्ष दुवैले तानातान गरिरहेका छन् । अध्यादेश पास गर्नका लागि राष्ट्रिय सभामा उपेन्द्र यादवको पार्टीका एक सांसद आवश्यक भएपछि अहिले उनलाई दुवै पक्षले तानातान गर्न लागेका हुन् ।
बहुमत पुगेको खण्डमा आज बस्ने बैठकमा नै अध्यादेश पास गर्ने संसद सचिवालयको तयारी छ । त्यसको लागि आज उपेन्द्र यादवलाई सत्ता पक्षीय दलका नेताहरूले भेटघाट बाक्लो बनाएका छन् ।
हिजो साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा छलफल गरेका यादव आज एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि गएका छन्।
हिजो देउवा र यादवबीच आधा घण्टा जति कुराकानी भएको थियो। तर, देउवा र यादवबीच के समझदारी भयो, खुलिसकेको छैन। यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै भेटका लागि बालुवाटार बोलाएका थिए।