

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नै निर्वाचन क्षेत्रका जनताको समेत पैसा ठगी गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
चितवनको भरतपुरमा रहेको साहारा चितवन सहकारी ठगीको आरोपमा लामिछानेसहित ३२ जनाविरुद्ध मंगलबार पूरक अभियोग दर्ता भएको हो । यसअघि मूल अभियोग पत्रमा माग गरिएका ४४६ जना पीडित बचतकर्ताहरुको ३७ करोड ६५ लाख ४ हजार ५४६ रुपैयाँ १ पैसा र पूरक जाहेरी दिने १० जनाको ४३ लाख ९४ हजार छ सय ३१ रुपैयाँ एक पैसा गरी ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ भराई दिन माग गरिएको छ।
यसअघि नै गठीमा मुद्दा चलाइएका जीबी भन्ने गितेन्द्रबाबु राईसहितका प्रतिवादीहरु पनि छन् । उनीहरुको हकमा पनि बिगो र कसुर थप गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालविरुद्ध कास्की अदालतमा सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भइसकेकाले यहाँ दर्ता नगरिएको उल्लेख छ।
३२ जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा सजाय माग गरिएको छ। यस्तै १२ जनाविरुद्ध संगठित अपराधको कसुरमा पनि सजाय माग गरिएको छ। रविलाई भने ठगीबाहेकका कसुरमा कारबाही माग गरिएको छैन ।