काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई आफ्नो सांसद पदको निलम्बन फुकुवा गरिदिन बिन्तीपत्र बुझाएका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भेटेर निलम्बन फुकुवा गरिदिन अनुरोध गरेका हुन् ।
सभापति लामिछानेले आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाएका हुन् । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गरे ।
सङ्घीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागि भई विधायिकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे । प्रतिनिधिसभा सदस्य लामिछानेलाई गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो ।