

काठमाडौं । नेकपा एमालेको कार्यकारी पदमा उम्मेदवारी दिने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वबाट आफ्नो राजनीतिक अभियान सुरु गरेकी छन् । गत सोमबार विराटनगर ओर्लिएपछि एक कार्यक्रममा उनले आफू छिट्टै पार्टीको सक्रिय राजनीतिमा आउने संकेत गरेकी थिइन् । त्यसले काठमाडौंमा एमाले वृत्तमा एककिसिमको भुइँचालो नै गएको छ । केपी ओली निकट नेताहरूले उनको कार्यशैलीको विरोध समेत गर्न थालिसकेका छन् ।
विराटनगरस्थित विग होटलमा बसिरहेकी उनले पार्टी नेता कार्यकर्ताहरूसँग भेटघाट बाक्लो बनाएकी छन् । एक साताका लागि विराटनगर गएकी उनी बिहानबेलुका विद्यार्थी, महिला र शिक्षा क्षेत्रका अगुवाहरूसँगको भेटघाटलाई बलियो बनाइरहेकी छिन् । उनले पार्टीलाई बलियो बनाउन पार्टीले आवश्यक मानेको खण्डमा नेतृत्वमा आउने बताउँदै आएकी छन् । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने चर्चाबीच विराटनगरको उनको बसाइँलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बुधबारदेखि उनी खुलेरै एमाले नेतृत्वको विपक्षमा देखिएकी भेटघाटमा सहभागी नेताहरूले बताएका छन् । बुधबार बिहान बुद्धिजीवीहरूसँगको भेटघाट उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘विराटनगरमा म आएको देखेर काठमाडौंमा भूकम्प गएको’ भन्ने टिप्पणी गरेकी थिइन् । यसले पनि उनी हाल पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका पक्षसँग खुलेरै भेटघाटमा लाग्न थालेकी छन् ।