

काठमाडौं । विपक्षी सात दलले सहकारी ठगी मुद्दामा निलम्बित रास्वपा सभापति रवि लामिछानेको बचाउमा संसदमा सबै विपक्षी दलहरूले बोल्ने विषयमा सहमति जुटाउन सकेन । आज सिंहदरबारमा बसेको दलहरूको बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले रविको बचाउमा बोल्ने बारेमा निर्णय गर्न प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि सो विषयमा कुनै निर्णय नभएको बताइएको छ ।
शुक्रबार संसदको हिउँदे अधिवेशन बस्दैछ । जसमा विपक्षीहरूको साझा धारणा राख्ने विषयमा छलफल भएको थियो । सांसद पद निलम्बनको विरोध र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सरकारको प्रतिशोध देखिएकाले यसमा पनि विपक्षी एकमत हुनुपर्ने रास्वपाको प्रस्ताव थियो । रास्वपाको यो प्रस्तावमा सहमति नजुटेपछि अध्यादेशका बारेमा दलहरूबीच छलफल केन्द्रित भयो । अध्यादेशको विरोध गर्ने सवालमा भने सबै विपक्षी दल एक ठाउँमा उभिन पुगे ।
बिहीबार बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारदेखि सञ्चालन हुने संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा विपक्षीको साझा धारणा बनाउन छलफल राखिएको बताए ।
साथै, उनले जनसरोकारका विषयहरूमा विपक्षी दलहरू एकमत भएर सशक्त आवाज उठाउन सहमत रहेको जानकारी दिए ।