

काठमाडौं । आठौं व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ आजदेखि सुरु भएको हो । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
आयोजकका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी कक्ष निर्माण गर्न अविलम्व पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको आयोजकले जनाएको छ ।
यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ । एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता जनाएका छन् ।