

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय परिसरमा गरेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी (एसएमई) सम्मेलनमा ठूला व्यवसायीहरूले सहभागिता जनाएका छन्। आज र भोलि सञ्चालन हुने सो सम्मेलनमा सहभागी व्यवसायीहरूले संसदको सबैभन्दा ठूलो दलले सुरुवात गरेको यो प्रयास प्रशंसनीय रहेको बताएका छन्।
सम्मेलनमा उद्यमी, व्यवसायीसहित निजी क्षेत्रको विकासमा संलग्न सरोकारवालाहरूसँग छलफल कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो। । यस्तै, कांग्रेस पार्टी कार्यालय परिसरमा स्थानीय रूपमा उत्पादित विभिन्न सामग्रीका दर्जनबढी स्टल पनि राखिएका छन् ।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा निकै धेरै सम्भावना रहेको बताएका छन् । ‘नेपालमा लगानीः स्टार्टअप र एसएमईहरूको भविष्य’ शीर्षकको प्यानल डिस्कसनका क्रममा बोल्दै उनले नेपालकै पुँजीले पनि निकै धेरै विकासका कामहरू गर्न सकिने बताएका हुन् ।
अन्य व्यवसायीहरूले पनि यस्ता सम्मेलनले स्टार्टअपमा नेपालीको सहभागिता र सम्भावनाको ढोका खोज्ने बताएका छन् ।
६ भन्दा बढी थिममा सेसन रहेको सम्मेलनका गोष्ठीमा ४० भन्दा बढी वक्ता सहभागी छन् । ८० भन्दा बढी स्टार्टअप तथा एसएमईका स्टल एवं उपस्थित रहने सम्मेलनमा करिब ६ हजार दर्शकको उपस्थिति हुने आकलन कांग्रेसको छ ।
कार्यालय परिसरमा रहेका स्थानीय ब्रान्डका स्टलमा खानेकुरा, लुगा, स्थानीय जडिबुटी, आईटी एवं फिनेटक स्टार्टअपलगायत छन् ।