

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने तर्फ नसोच्न सुझाव दिएका छन्। बुधबार प्रेस चौतारी बुटवलले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रध्यक्ष भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताएका हुन् ।
उनले नेकपा एमालेभित्र उनी कार्यकारी भूमिकामा एमालेमा फर्किन लागेको विषयमा कुनै छलफल नभएको भन्दै त्यो बाहिरी हल्ला मात्रै रहेको बताए ।
‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ,’ ज्ञवालीले भने ।
पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुन थालेकी पूर्व राष्ट्रपति भण्डारी आगामी महाधिवेशनमा एमालेको नेतृत्वका लागि उम्मेदवारी दिने तयारीमा छिन्। यसमा वर्तमान अध्यक्ष केपी ओली पक्षले भने विरोध गर्दै आएको छ।