काठमाडौं खबर माघ १४, २०८१
काठमाडौं । कास्की जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उच्च अदालतमा निवेदन दिएका छन् । जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध उच्च अदालत गुहारेका हुन् ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले पनि मागअनुसारको कारबाही नभएको भन्दै उच्च अदालतमा निवेदन दिएको थियो । अहिले रवि आफूलाई ६५ लाख रूपैयाँ धरौटी माग्ने जिल्लाको आदेश त्रुटिपूर्ण र बेरितको रहेकाले बदर गर्नुपर्ने उनको माग छ ।
७ पेज लामो पुनरावेदनमा रविले आफू सहकारीसँग असम्वन्धित व्यक्ति भएको र धरातलीय यथार्थबिना प्रपञ्च रचेर अभियोग लगाइएको गुनासो गरेका छन् । उनको पुनरावेदनमा भनिएको छ, ‘मेरा उपर राजनीतिक दाउपेचका आधारमा प्रमाणित हुन नसक्ने संगीन कसुरहरुको आरोप लगाएर मेरो राजनैतिक, सामाजिक, पारिवारिक, व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको छु ।’