

काठमाडौँ । यसअघि विभिन्न सञ्चार माध्यम र चिया गफमा चर्चाको विषय बन्ने गरेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले अध्यक्ष सम्भावनाबारे स्वयं भण्डारीले एक कार्यक्रममा संकेत गरेकी छन्। सोमबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा भण्डारीले आफू एमालेबाट नै राष्ट्रपति भएकाले ढिलो चाँडो एमालेमै फर्किने स्पष्ट पारिन्। उनले राजनीतिभन्दा कोही टाढा नहुने समेत बताएकी छन्।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग टकराव चलिरहेको चर्चा चुलिँदै गर्दा भण्डारीको यो अभिव्यक्तिले उनी एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने पूर्ण तयारीमा रहेको देखाउँछ। एमाले फर्किने भन्नुको अर्थ उनी एमालेको नेतृत्व पंक्तिमा आउने भन्ने स्पष्ट हुन्छ । किनभने पार्टी सदस्यताको हिसाबमा उनले यसअघि नै सदस्यता लिइसकेकी छन् ।
भण्डारी निकट स्रोतका अनुसार उनी आगामी अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने सोचमा छिन् । पार्टीमा एकलौटी शासन चलाउने सपना देख्दै आएका अध्यक्ष केपी ओलीलाई भन्ने भण्डारीको आगमनले त्यति सहज हुने देखिँदैन।
आजको पत्रकार सम्मेलनमा भण्डारीले अहिले तत्कालै पार्टी राजनीतिमा सक्रिय भइहाल्ने बेला नभएको भन्दै बेला आएपछि सक्रियता देखाउने बताएकी छन्। यसको अर्थ उनले आगामी महाधिवेशनबाट आफ्नो सक्रियता अघि बढाउने संकेत गरेकी हुन् ।