

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई आइतबार रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गर्यो । सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा उनको सबै सम्पत्ति रोक्का गर्दै धरौटी माग गरेको हो । योसँगै उनको कुल धरौटी रकम २ करोड २५ लाख पुगेको छ । आइतबारको आदेशलगत्तै उनी बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएर रिहा भइसकेका छन् ।
तर धेरैलाई चासोको कुरा चाहिँ के हुन सक्छ भने हरेक दिन अदालतको आदेश आउनेबित्तिकै धरौटी बुझाउन सक्ने लामिछानेसँग आखिर पैसा छ चाहिँ कति ?
यसको आधिकारिक जानकारी उनी स्वयंले मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणबाट बुझौं । गत जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रवि गृहमन्त्री थिए । सो समयमा सबै मन्त्रीहरूले आ-आफ्नो सम्पत्ति विवरण बुझाउने निर्णय मन्त्रिपरिषद्बाट भएको थियो । सोही निर्णयानुसार रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बुढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ।
रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ । सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका थिए । यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका थिए । त्यस्तै, चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ।
गृहमन्त्री रविका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ। निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ। त्यस्तै, निकिताको नाममा आठ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको बताइएको छ । चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख गरिएको थियो ।
यति धेरै सम्पत्तिका मालिक भएका कारण बैंकले पनि सहजै उनलाई ग्यारेन्ट दिने गरेको छ ।