

कञ्चनपुर । करिब एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका दुई जवानले समान प्रकृतिले आफ्नै टाउकोमा गोली हानी आत्महत्या प्रयास गरेका छन् । करिब एक महिनाअघि कञ्चनपुरकै प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत चक्र न्यौपानेको घटना सेलाउन नपाउँदै बुधबार अर्का प्रहरी जवानले आफैमाथि गोली चलाएका हुन् ।
बुधबार महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका हुन् । विष्टले साँझ सवा ८ बजेतिर आफैंले बोकेको एसएलआरले गोली हानेका हुन् । दाइने कानको माथि टाउकोमा गोली लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्नुको कारण भने पत्ता लागेकेा छैन । उनको आत्महत्या गर्नुको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ।