

रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । आइतबार अपराह्न बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
संगठित रुपमा ठगीको कसुरको यो मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ ।
त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो ।