

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहस सोमबार पनि नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइएको छ । आज बिहानैदेखि सुरु भएको बहसमा पीडित पक्ष र सरकारी वकिलको तर्फबाट बहस सकिए पनि समय अभावले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन ।
आज बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई पुनः न्यायिक हिरासतमा पठाउने आदेश दिए ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएपछि सभापति लामिछाने आइतबार स्वयं अदालतमा उपस्थित भएका थिए । सुरुमा उनको बयान लिइएको थियो । तर आइतबार नै बहस हुन नसकेपछि सोमबारदेखि मात्रै थुनछेक बहस गरिएको थियो ।
भोलि माघे संक्रान्ति बिदा भएकोले माघ २ गते बुधबारदेखि सुनुवाइ सुरु हुनेछ । सम्भव भएसम्म बुधबार नै र नभए पनि बिहीबार उनीविरुद्धको मुद्दामा थुनछेक आदेश आउने सम्भावना छ ।