

काठमाडौं । अदालतमा आफैँ उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । गत बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाडेपछि उनलाई काठमाडौं अदालतमा आफैँ उपस्थित हुने गरी श्रीमती निकिता पौडेलको जिम्मामा छाडेको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो । बयान सकिएपछि उनको सोमबारबाट थुनछेक बहस सुरु हुन लागेको हो ।