काठमाडौं खबर पुस २८, २०८१
काठमाडौं। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जनालाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने तयारी गरेको छ।
गत बिहिबार सहकारी प्रकरणमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रतिवादी सातै जनालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध पीडित र सरकारी वकिल कार्यालय उच्च अदालत जाने तयारीमा जुटेका हुन्। स्रोतका अनुसार कास्की अदालतको आदेश बदरको माग गर्दै आइतबार नै उच्च अदालतमा निवेदन दर्ता गर्ने उनीहरूको तयारी छ ।
उता सो आदेशविरुद्ध न्यायपरिषद्मा समेत उजुरी परेको छ। अभियन्ता युवराज सफलले आदेशको भोलिपल्ट अर्थात् शुक्रबार न्यायपरिषद्मा आदेश दिने न्यायाधीश नितिज राईविरुद्ध उजुरी दिएका थिए।