

काठमाडौँ । विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् ।
सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ । महासचिव चन्दले भन्नुभयो, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न देशमा बस्ने नेपालीबाट भैराखेको छ । पहिलो पटक ओमानबाट सेवा सुरुआत गरिसक्यौ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियबाट पनि आँखा उपचार सेवा थालिने गरिने छ । ”
नेत्रविशेषज्ञ प्राडा देवनारायण साहको अध्ययन अनुसार नेपालको आँखा स्वास्थ्य उपचार सेवा विश्वमै सस्तो र गुणस्तरीय रहेको छ । यही कारण नेपालमा आँखा उपचार सेवा लिने विदेशीको सङ्ख्या पनि वृद्धि भैराखेको छ । उहाँका अनुसार तेस्रो मुलुकबाट मात्र गत वर्ष दुईलाख ५० हजार विदेशी नागरिकले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए ।
अर्काेतर्फ सङ्घले मागका आधारमा विदेशमा आफ्ना नेत्रविशेषज्ञलाई पठाइ सेवा दिने समेत गरेको छ । गत असोजमा सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गर्नुभएको थियो । नेपाली चिकित्सकले ढाकामा भएको आन्दोलनका क्रममा आँखामा चोट लागेर नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका ,नानीमा रगत जमेका लगायत समस्या देखिएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए ।