काठमाडौं । कास्कीमा रहेको सूर्यदर्शन सहकारीको बचत प्रचलन मुद्दामा आज सरकारी वकिल ले जवाफी बहस गर्दैछन् । प्रतिवादीकाहरूको तर्फबाट उपस्थित सबै वकिलले बहस सकेपछि आज सरकारी वकिलले त्यसको जवाफी बहस गर्न लागेका हुन्।
अहिले सहकारी अपचलन मुद्दामा प्रतिवादीहरूलाई थुनामा राख्ने या धरौटीमा छाड्ने भन्ने विषयमा थुनछेक बहस चलिरहेको छ। न्यायाधीश नितिज राईको इजलासमा भएको बहसमा पूर्व डिआइजी छविराज जोशीको तर्फबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् भने पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट दुईजना पूर्व महान्यायाधिवक्ता सहित ११ जनाले बहस गरेका छन्। कुल ७ जन प्रतिवादी को तर्फबाट कानुन व्यवसायीले बहस सकेपछि आज सरकारी वकिलको तर्फबाट त्यसको जवाफी बहस हुन लागेको हो।
सम्भवत आज नै सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिने सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ। गत पुष १६ गतेदेखि जारी रहेको थुन्छेक बहसमा सम्भवत आज नै फैसला आउन सक्ने आकलन गरिएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।