काठमाडौं । कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबारसम्म थुनछेक आदेश गर्ने सम्भावना देखिएको छ । बुधबारदेखि नै जिल्ला अदालत कास्कीको आसपासका क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्ममा अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरेको बताइन् । उनका अनुसार बिहीबार नै जवाफी बहस सकेर आदेश आउने सम्भावना रहेको हो ।
मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका थिए ।बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका छन् । साथै, जाहेरवालाका तर्फबाट पनि बहस हुँदैछ ।
थुनछेकको आदेश नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्र बैंक चोक, वाई चोक र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यहाँ सवारी आवागमनमा समेत रोक लगाइएको छ ।