काठमाडौं । सरकारले निर्णय गरेसँगै कारागार व्यवस्था विभागले काठमाडौंका कैदीबन्दीलाई नुवाकोट सार्न थालेको छ । नुवाकोटमा सञ्चालनमा रहेको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको विभागले जनाएको छ। । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि कारागार सञ्चालनमा ल्याइएको थियो ।
सो कारागारमा अहिलेसम्म सात सय ५८ जना कैदीबन्दी स्थानान्तरण गरिसकिएको केन्द्रीय कारागार नुवाकोटका शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए । सुरुमा जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी ल्याएर कारागार सुरु गरिएकोमा अहिले नुवाकोट आसपासबाट अन्य कैदीबन्दीहरू ल्याउन थालिएको छ ।
कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भान्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउने क्रम जारी छ । यहाँको कारागारमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नक्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँका क्षमताभन्दा बढी हुन आउनेमध्येका कैदीबन्दी स्थानन्तरण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उपत्यकाको कारागारसहित आसपासका रसुवा, धादिङ, गोरखाका क्षमताभन्दा बढी हुन आउने सङ्ख्याका कैदीबन्दी ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।
केन्द्रीय कारागारलाई आधुनिक एवं औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ । सोहीअनुसार तेस्रो चरणको भौतिक संरचना निर्माण अघि बढाउन गृहकार्य भइरहेको छ ।’ महानिर्देशक भट्टराईले भने, ‘देशभर १३ हजार कैदीबन्दी क्षमताको कारागारमा हाल २८ हजारभन्दा बढी रहेकाले नुवाकोटको केन्द्रीय कारागारलाई जतिसक्दो चाँडो पूर्णता दिन सरकार प्रतिबद्ध छ ।’
काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई २०७० साल चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा स्थानान्तरण गर्ने निर्णयअनुरुप निर्माण गरेको यस कारागारको गुरुयोजनाअनुरुप पाँच चरणमा काम सम्पन्न गर्ने उल्लेख छ । तेस्रो चरणमा पहिलो युनिटका लागि चाहिने १० वटा ब्लकमा एक हजार तीन सय ७० जना कैदीबन्दी राख्न भौतिक संरचनाको निर्माण, प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट बस्ने संरचना निर्माण गरिएका छन् ।
‘औद्योगिक, आधुनिक एवं नमूना कारागाराको रुपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुसार नुवाकोटको कारागारलाई सुविधासम्पन्न बनाउन थप चरणका काम अघि बढाउन बजेट व्यवस्थापनको पर्खाइमा छौँ ।’ उनले भने, ‘खेलमैदान, योग केन्द्र, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवर्द्धन केन्द्र, किरियापुत्री कक्षसहितका सुविधा अब बन्ने नयाँ संरचनामा समावेश गरिने छ ।’