त्रिशूली (नुवाकोट) । गोरखाबाट काठमाडौँका लागि हिँडेको नेपाली सेनाको एकीकरण पदमार्ग टोली नुवाकोट आइपुगेको छ। मङ्गलबार धादिङको भर्याङ भुरुङ हुँदै सामरीबाट नुवाकोट आइपुगेको टोली बिदुर नगरपालिका १० स्थित शुभघाटमा आएर बसेको थियो।
बुधबार नुवाकोटको साततल्ले दरबार हुँदै टोली काठमाडौँतर्फ अघि बढ्नेछ। कागु नै हुँदै शुभघाट आइपुगेको टोलीलाई बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ सहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए।
नगर प्रमुख श्रेष्ठले नेपाली सेनाले आयोजना गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्याएको योगदानको संरक्षण र पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे । तत्कालीन समयमा नुवाकोटको त्रिशूलीदेखि धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य कायम थियो ।
पृथ्वीनारायण शाहका बुबाले पहिलो पटक नुवाकोटमाथि गरेको आक्रमण बिफल भएपछि शाहले दोस्रो पटकको प्रयासमा नुवाकोटबाट विजयी हासिल गरेर सुरु भएको अभियानले नेपाल एकीकरण सम्भव भएको थियो । कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथिको विजयपछि पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकासहित अन्य राज्यमाथि विजयी हासिल गरेका थिए।
सोही क्रममा उनले पछ्याएको पदमार्गको संरक्षण, पर्यटक प्रवद्र्धन र वीर पुर्खाले पुर्याएको योगदानको सम्मानस्वरुप युवापिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ सञ्चालनमा ल्याइएको नेपाल सेना नुवाकोटका गणपति (प्रमुख सेनानी) विष्णु कार्कीले बताए।
पदमार्गमा पर्ने कोटघर, गढी, किल्लालगायतका ऐतिहासिक तथा धार्मिक महत्वको संरचनाको सम्वद्र्धन, संरक्षण, प्रवद्र्धन र प्रचारमा उल्लेख्य सहयोग पुग्नेमा विश्वास व्यक्त गरिएको छ ।
गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि जित निकालेपछि काठमाडौँ उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देश एकीकरण पदयात्रामार्फत दिन खोजिएको छ ।