काठमाडौं। सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुर्पुक्षको लागि थुनामा जानबाट रोक्नका लागि महान्यायाधिवक्तादेखि अधिवक्तासम्मको लाइन लगाएका छन् । आज सकिएको उनको पक्षको बहसमा कुल ११ कानुन व्यवसायीले बहस गरेका छन् ।
रविको पक्षबाट दुई पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र सुशील पन्त बहसमा सहभागी भएका थिए । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू डा नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउत, सुरेन्द्र थापा मगरसहितका कानुन व्यवसायीले पनि बचाउ बहस गरेका छन्।
अधिवक्ता बाँस्तोलाका अनुसार बहसको क्रममा कानुन व्यवसायीहरूले प्रथम दृष्टिमै रविमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको देखिने र उनी निर्दोष रहेको जिकिर गरेका थिए।