पोखरा । पार्टी कार्यक्रममा सहभागी हुन पोखरा पुगेका नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जोडेर रास्वपाका कार्यकर्ताहरूले स्वतन्त्र न्यायपालिकासम्बन्धी मान्यताको नै हुर्मत लिने गरी अनर्गल प्रचार गरेका छन् । सहकारी ठगीमा मुद्दा खेपिरहेका आफ्ना सभापतिको मुद्दा प्रभावित पार्न पोखरा आएको भन्दै रास्वपा कार्यकर्ताले गत शनिबार दिनभरि सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेका थिए भने थापा सम्मिलित कार्यक्रम प्रभावित पार्ने प्रयास समेत गरेका थिए ।
अदालतमा प्रवेश गरिसकेको मुद्दामा कुनै पनि राजनीतिक वा अन्य किसिमको प्रभाव पार्न खोजियो भन्नु आफैँमा सस्तो लोकप्रियताको लागि दिइने अभिव्यक्ति हो । त्यसैमाथि अदालतमा मुद्दा परिसकेको अवस्थामा सहकारी पीडितले भेट्छु भन्दा समेत सांकेतिक रूपमा मुद्दामाथि प्रभाव पर्न सक्छ भनेर नभेटेका थापा सरकारी वकिल र न्यायाधीशलाई प्रभाव पार्न पोखरा गएको भन्दै न्यायपालिकाको स्वतन्त्रतामाथि नै भ्रम छर्नेगरी रास्वपा कार्यकर्ताले चार गरेका हुन् ।
शनिबार महामन्त्री थापा पार्टीको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । नेपाली कांग्रेस प्रदेश तथा स्थानीय विभाग गण्डकी प्रदेशले आयोजना गरेको ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक गण्डकी प्रदेशस्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम थियो । शनिबार नै नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन पनि थियो । यही मेसोमा पार्टीका अन्य कार्यक्रमहरूमा समेत सहभागी हुने भनेर महामन्त्री थापा पोखरा गएका थिए ।
तर उनको पोखरा भ्रमणलाई हास्यास्पद तरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले अनर्गल प्रचार सुरु गरे । सहकारी प्रकरणमा रास्वपाले महामन्त्री थापालाई जोड्न सक्ने ठानेर कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले कार्यतालिका नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । सुरुमा रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले थापा मुद्दा प्रभावित पार्न पोखरा पुगेको आरोप लगाएकी थिइन् । उनकै फेसबुक स्टाटसको आधारमा थापाको भ्रमणलाई लिएर रास्वपा कार्यकर्ताहरूले प्रचारप्रसार फैलाएका हुन् । उनीहरूले न्यायालय स्वतन्त्र हुन्छ भन्ने मान्यतालाई नै भ्रम फैलाएर न्यायालयको समेत अपमान गरेको काँग्रेसको आरोप छ ।
अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै महामन्त्री थापाले सहकारी पीडितसँग समेत भेट्न अस्वीकार गरेको गण्डकी प्रदेश सभाका सांसद डिल्लीराम सुवेदीले बताएका छन् । उनले भनेका छन् : ‘सहकारी पीडितले पनि भेट्न खोजेका थिए । तर, महामन्त्रीज्यूले अदालतमा विचाराधीन मुद्दा रहेकाले भेट्न नसक्ने बताउनुभयो । जे गर्छन, वकिलले गर्छन् भनेर जवाफ दिनुभयो । रास्वपाका कार्यकर्ताहरूले अफवाह फैलाएर अदालतलाई प्रभावित पार्ने प्रयन्त गर्न खोजेको जस्तो लाग्यो ।’