काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँगको राजनीतिक टकरावका बीच नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पुस्तकको विमोचन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत गराएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पोखरेलद्वारा लिखित आमा सपना र ताराहरू संस्मरणात्मक कृतिको विमोचन गरिएको हो। पछिल्लो समय नेकपा एमालेभित्र नयाँ नेतृत्वको विषयमा प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच टकराव पर्दै गएको समाचार बाहिर आएका छन् । अबको महाधिवेशनमा अध्यक्ष बन्ने आकांक्षा देखाएकी भण्डारीलाई रोक्नका लागि प्रधानमन्त्री ओली अहिले सक्रिय रुपमा लागेका छन्। यही प्रसङ्गमा उनले बिहीबार भण्डारी निवासमा पुगेर उनीसँग साढे दुई घण्टा छलफल समेत गरेका थिए।
यसरी आफ्नो शक्ति सञ्चयमा समय खर्च गर्दै आएकी भण्डारीबाट वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो पुस्तक पूर्व राष्ट्रपतिबाट विमोचन गराउनुलाई अर्थपूर्ण रहेको विश्लेषण गर्न थालिएको छ।
यद्यपि कार्यक्रममा कुनै राजनीतिक टिकाटिप्पणी भने भएनन्। कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘सर्जक पोखरेलले विभिन्न पत्रपत्रिकामा सैद्धान्तिक, वैचारिक लेख तथा साहित्य संस्मरणमार्फत मुलुकको राजनीतिक परिवर्तन, पार्टी एकता, सङ्गठन सुदृढीकरण र वैचारिक धार प्रवल बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गर्नुभयो । उनले भने, “गरिबी र पतीवियोगमा रहेकी आफ्नी आमाको प्रेरणाबाट पोखरेल राजनीति क्षेत्रमा अहिलेको अवस्थामा आइपुग्नुभएको हो । उहाँकी आमाले त्यसबेला पनि छोरा ईश्वरको अन्तरजातीय विवाहलाई सहजै स्वीकार्नुभयो । उहाँमा मुखले बोलेर कसैलाई चित्त दुखाउन हुन्न भन्ने भावना थियो ।”
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक सङ्गठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइलगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताए।