काठमाडौं खबर पुस १८, २०८१
काठमाडौं । नेपालको होटल व्यवसायमा करिब दुई तिहाइ कामदार तथा साझेदारहरू बेतलबी रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८०’ मा उक्त संख्यामा होटेल तथा रेष्टुरेन्टका कर्मचारी बेतलबी हिसाबले संलग्न रहेको देखिएको हो ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको उक्त सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको उल्लेख गरिएको छ । ती संस्थाहरुमा कुल ३ लाख ८७ हजार ७४७ जना आवद्ध भएको सर्भेक्षणले देखाएको छ । यो सो क्षेत्रका आवद्ध व्यवसायी तथा उनीहरुका साझेदार, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिको समेत संख्या हो ।
यो संख्यामध्ये १ लाख ६ हजार ४५९ जना मात्रै तलबी कर्मचारी भएको प्रतिवेदनले देखाएको छ । नेपाल स्ट्यान्डर्ड औद्योगिक वर्गीकरणको ‘आई’ खण्ड अन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने वा जुनसुकै प्रकारको भोजन सेवा उपलव्ध गराउने प्रतिष्ठान यस अन्तर्गत रहेको कार्यालयले जनाएको छ ।
यस्तो हिसाबमा तलबको हिसाबले हेर्दा दुई लाख ८१ हजार जनाले तलब नतोकी काम गरेको देखिएको हो । जसमा साना रेस्टुरेन्टका लगानीकर्ता वा प्रतिफल लिने व्यक्ति पनि संलग्न रहेका छन् ।