काठमाडौं खबर पुस १८, २०८१
काठमाडौं । सरकारले नेपालमा रहेका होटल व्यवसाय एवं नेपालमा आवास तथा भोजन सेवा प्रदान संस्था र त्यसको कर्मचारीहरूको संख्या सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८०’ मा उक्त संख्यामा होटेल तथा रेष्टुरेन्ट नेपालमा रहेको उल्लेख गरिएको हो ।
तथ्यांकअनुसार होटल तथा रेस्टुरेन्टमा तलब पाउने कामदारभन्दा होटलको संख्या धेरै रहेको भेटिएको छ । तथ्यांकअनुसार एक लाख ४२ हजार २२३ वटा होटेल तथा रेस्टुरेन्ट रहेको पाइएको छ । ‘सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा एक लाख ४२ हजार २२३ प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सर्वेक्षणमा २०७९ साउन १ गते देखि २०८० असार मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७९/०८० सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टलाई समेटिएको छ । सञ्चालनमा रहेका ती होटेल तथा रेष्टुरेन्टमा तीन लाख ८७ हजार ७४७ जना व्यक्तिहरू संलग्न रहेको कार्यालयले जनाएको छ । संख्यामध्ये १ लाख ६ हजार ४५९ जना मात्रै तलबी कर्मचारी भएको प्रतिवेदनले देखाएको छ ।
‘आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा संलग्न व्यक्तिहरूको संख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रुपले कार्यरत व्यवसायी तथा साझेदारहरू, वेतलबी पारिवारिक सदस्यहरू र तलबी रोजगार व्यक्तिहरूलाई बुभ्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।