काठमाडौं खबर पुस १७, २०८१
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल/ मट्टीतेलमा दुई रूपैयाँ बढाएको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ ५० पैसा पर्नेछ।
दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५२ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ।