काठमाडौं खबर पुस १७, २०८१
काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।
त्यस्तै, आज नै मधेशमा धोती दिवस मनाइँदै छ । अंग्रेजी नयाँ वर्षको दिन पारेर नै मधेशमा हरेक वर्ष जनवरी १ मा धोती दिवस मनाउने गरिन्छ । यस वर्ष जनमत पार्टीले मधेश प्रदेशका सबै जिल्लाहरूमा धोती दिवस मनाउन लागेको हो ।
आ-आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोसाक लगाएर कार्यक्रममा उपस्थित हुन जनमतले पार्टी पङ्तिमा निर्देशन दिएको छ ।