काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।
किन मनाइन्छ जनवरीमा नै नयाँ वर्ष ?
वास्तवमा भन्ने हो भने ग्रेगोरियन क्यालेन्डर फलो गर्ने सबै देशले जनवरीमा नै नयाँ वर्ष मनाउनै पर्छ भन्ने पनि छैन । कतिपयले आफ्नो देशको नयाँ वर्ष अरु कुनै वर्षमा आफैं मनाउने गरेका छन् । यस्तै एउटा उदाहरण हो, चीन । चीनमा पनि ग्रेगोरियन क्यालेन्डर फलो गरिन्छ । तर, त्यहाँ नयाँ वर्ष चिनियाँ वर्षका आधारमा नै मनाइने गरेको छ । त्यसो त शताब्दियौँसम्म पनि नयाँ वर्ष २५ मार्चमा मनाउने चलन थियो । कतिले २५ डिसेम्बरमा पनि नयाँ वर्ष मनाउने गरेका थिए ।
रोमन राजा नुमा पोम्पिलियसले यसलाई परिवर्तन गरेर १ जनवरीमा नयाँ वर्ष मनाउने बनाए । उनको राज्य चलाइरहेको समयमा (७१५–६७३ विफोर क्राइस्ट) नै उनले यो क्यालेन्डरलाई पुर्ननिर्माण गरे । अनि मार्चमा मनाउन थालिएको नयाँ वर्षलाई १ जनवरीमा मनाउन थालियो । यसको पनि कारण छ । खासमा रोमनहरुले जानसलाई सुरुवातका भगवान मान्छन् । मार्चलाई युद्धका भगवान मान्ने गरेका छन् । त्यसैले सुरुवाती भगवानको नाममा राखिएको जनवरीलाई नै नयाँ वर्षको सुरुवातका रुपमा मान्न थालिएको पनि हो ।
१५३ विफोर क्राइस्टसम्म १ जनवरीलाई नै नयाँ वर्ष नमानिएका विभिन्न उदाहरण नभएका पनि होइनन् । तर, बीचमा फेरि जनवरीलाई वर्षको पहिलो महिना मान्न छाडियो । त्यसैले ग्रेगोरी १३ औंले नयाँ क्यालेन्डरलाई ल्याए । यो सन् १५८२ को कुरा हो । उनले त्यो नयाँ क्यालेन्डरमा फेरि जनवरीलाई पहिलो वर्षका रुपमा राखे । इटाली, फ्रान्स तथा स्पेनले यसलाई तत्काल स्वीकार गरे । तर, बेलायत र अमेरिकाले सन् १७५२ सम्म पनि यो नयाँ क्यालेन्डर स्वीकार गरेका थिएनन् । उनीहरुले त्यति बेलासम्म नयाँ वर्ष २५ मार्चमा मनाउने गरेका थिए ।