![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन र आम चुनावको बारेमा मात्रै धेरै टाउको नदुखाउन पार्टी नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मंगलबार बीपीको मेलमिलाप नीतिबारे चर्चा गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीको नियमित महाधिवेशनको प्रक्रियालाई लिएर अनावश्यक भ्रम फैलाउने गरी चर्चा गरिएको भन्दै महाधिवेशन समयमै हुनेमा ढुक्क हुन उनले सबै समक्ष अनुरोध गरे ।
‘पार्टीको मञ्चमा आजभोलि हेर्छु, जहाँ पनि बहस, छलफल केमा भइरहेको छ? कि हामी २०८४को चुनावको कुरा गर्छौं, कि हामी महाधिवेशनको कुरा गर्छौं,’ थापाको आग्रह छ, ‘छोड्दिउ। १५ औं महाधिवेशन हुन्छ। १२ औं, ११ औं, १० औं भएको छ भने अरु किन हुन्न? रुवाबासी किन गरिरहेका छौं? महाधिवेशन हुन्छ कि हुँदैन?’
उनले प्रतिबन्धित कालमा त सम्हालेर आएको नेपाली कांग्रेस पार्टीले (महाधिवेशन) नगर्ला भनेर चिन्ता लिनै नपर्ने तर्क गरे । ‘तपाईंहरुले हामीलाई जिम्मा दिनु भएको छ। ढुक्क हुनुहोस्, पार्टीको महाधिवेशन समयमै हुन्छ। छोड्दिनुहोस्। यो महाधिवेशनका बारेमा धेरै चर्चा पनि नगर्नुहोस्। महाधिवेशन पार्टीको नियमित प्रक्रिया हो। को नेतृत्वमा आउने कुरा त्यो समयमै सोचौंला।’ उनले भने ।