काठमाडौं । प्रचण्डका तत्कालीन स्वकीय सचिवले हडपेको नुवाकोटको शेरा दरबार सरकारको नाममा फिर्ता गर्नुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । राजा पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रूपमा रहेको सो दरबार माओवादी केन्द्रका नेता तथा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदाका स्वकीय सचिव विकेश श्रेष्ठको नाममा पुगेपछि सरकारी संयन्त्रमा खैलाबैला मच्चिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी दिए ।
उनले उक्त जग्गाका विषयमा अख्तियारलाई समेत जानकारीसहितको पत्र पठाइएको बताए । सीआईबीले चार महिनाभन्दा बढी लगाएर उक्त जग्गाको अनुसन्धान गरेको जनाएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका र त्यो जग्गामा अधिकांश व्यक्तिको फर्ममा पुगेको अनुसन्धानमा फेला परेको सीआईबीले जनाएको छ ।
पछिल्लो समयमा उक्त जग्गा व्यक्तिले लिएको विषयमा समाचार बाहिर आएको थियो ।