काठमाडौं खबर पुस ७, २०८१
गण्डकी । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ३१ करोड बिगो दाबीसहितको मुद्दा आज जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विषयमा मुद्दा दायर भएसँगै सभापति लामिछाने स्वत: निलम्बनमा परेका छन् ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’, ऐनमा भनिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए ।
उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिनुभएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए । यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।