काठमाडौं खबर पुस ५, २०८१
काठमाडौं । कास्की जिल्ला अदालतको कारागारमा हिरासत जीवन बिताइरहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक भएको छ । मंसिर २९ गते डा निकोलस भुषालको फेसबुकमा सार्वजनिक भएको यो फोटो पछिल्लो समय लामिछानेका स्वकीय सचिव दीपक बोहोराको फेसबुकबाट सार्वजनिक भएको हो । जुन फोटोमा रविलाई एउटा सिंगल कोठा उपलब्ध गराइएको छ । महँगो पर्ने मिनेरल वाटर केही थान पुस्तकहरू एवं सुविधासम्पन्न खाटमा राम्रो सुविधा दिएको देखिएको छ ।
हिरासतमा उचित सुविधा नदिएको र मानवअधिकार हनन् भएको भन्ने भनेर बाहिर सार्वजनिक प्रचार गरिएका लामिछानेलाई हिरासतमा ज्वाईंलाई जस्तो सुविधा दिएको सो फोटोले पुष्टि गरेको छ ।
त्यसो त यो फोटो सार्वजनिक गर्नु कानुनीरूपमा गलत कुरा हो । यसको जिम्मा लिएका रास्वपाकै नेता डा निकोलस भुषालले सामाजिक सञ्जालमार्फत् यसमा माफी मागिसकेका छन् भने प्रहरीले अनुसन्धान गरिरहेको छ । यो फोटोलाई दोस्रो पटक सार्वजनिक खपतको विषय बनाउनका लागि रविका स्वकीय सचिवले सार्वजनिक त गरे । तर यसमा उनीहरू आफैँले प्रचार गरेको विषयमा भने ब्याक फायर भएको छ । उनी हिरासतमा कति सुविधासम्पन्न तरिकाले बसेका छन् भन्ने यो फोटोले देखाएको छ ।
यसबारे छानबिन गर्न गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको हो । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलका अनुसार समितिलाई यथाशक्य चाँडो प्रतिवेदन बुझाउन भनिएको छ ।
रविको तस्वीर सार्वजनिक भएसँगै प्रहरी सुरक्षामै प्रश्न उठेको भन्दै गृहमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले यसमा चासो दिइरहेका छन् ।