काठमाडौं । १९७२ मा ब्रिटिश सहायताअन्तर्गत स्थापना भएको प्रसिद्ध बुढानीलकण्ठ स्कुल देशकै उत्कृष्ट शैक्षिक संस्थाहरूको सूचीमा पर्छ । बुढानीलकण्ठ नगरपालिकामा रहेको यस विद्यालयल ‘पब्लिक स्कुल’ मोडलमा विकसित गरिएको थियो । तथ्याङ्कअनुसार ३८ हेक्टर क्षेत्रफलमा फैलिएको बुढानीलकण्ठ स्कुलको विशाल क्षेत्र हरियाली, खेल मैदान, आधुनिक भवनहरू, प्रयोगशालाहरू, पुस्तकालय, र छात्रावासहरू लगायतका संरचनाहरूले सुशोभित छ। यस विद्यालयको वातावरण शिक्षाका लागि अत्यन्तै अनुकूल र शान्त मानिन्छ ।
विशाल क्षेत्रफल र शान्त वातावरण रहेको यस स्कूलको जग्गा-जमिनमाथि बेलाकुबेला कुदृष्टि पनि पर्ने गरेको छ । ३ वर्षअघि बुढानीलकण्ठका तत्कालिन मेयरले यस स्कुलको जग्गामा बसपार्क बनाउने प्रस्ताव गरेका थिए । मेयरको यस प्रस्तावप्रति व्यापक आलोचना भएपछि सो प्रस्ताव कार्यान्वयनपूर्व तुहिएको थियो ।
बुढानीलकण्ठ स्कूलको जग्गामाथि भएको दृष्टि-कुदृष्टिको नयाँ विषय सामुन्ने आएको छ । यो विषय भने बुढानीलकण्ठ स्कूलभित्रकै बिभिन्न महत्वपूणर् पक्ष एवम् व्यक्ति चलखेलबाट सिर्जना भएको हो । स्थानीयवासीले बिरोध गर्न थालेपछि सार्वजनिक भएको नयाँ विषयमा स्कूल हाताभित्रको ६ देखि १६ रोपनीसम्म जग्गा संस्थालाई दिने बिषय हो । पूर्व विद्यार्थीहरूको संस्था भनिएको सेब्स अर्गनाइजेसनलाई भवनसहित बिभिन्न पक्ष निर्माणका लागि भनेर यति ठूलो परिणामको जग्गा दिन लागिएको हो ।
बुढानीलकण्ठकै गोल्फुटारमा घर भाडामा लिएर बसिरहेको सेब्स अर्गनाइजेसनलाई जग्गा दिने खेलमा स्कूलका प्रिन्सिपल केशरबहादुर खुलाल प्रमुखरूपमा सक्रिय छन् । लगभग १ वर्षअघि प्रिन्सिपल बनेर आएका बुढानीलकण्ठकै पूर्व विद्यार्थी खुलाल आफै फाइल बोकेर स्कूल हाताभित्रको जग्गा संस्थालाई दिलाउन भूमिका प्रदान गर्दैछन् । स्कुल हाताभित्र एनजिओ प्रवेश गराउन चाहने व्यक्तिमा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठको पनि महत्वपूणर् भूमिका रहेको देखिन्छ । श्रेष्ठ शिक्षामन्त्री हुँदा सहजीकरण गरेर सो संस्थालाइ स्कूलको जग्गा दिने वातावरण बनाइएको थियो । बुढानीलकण्ठ स्कूलकी पूर्व विद्यार्थीसमेत रहेकी श्रेष्ठले सेब्सलाइ जग्गा दिलाउन भूमिका खेलेकी थिइन् ।
सन्तोष बिष्ट अध्यक्ष रहेको सेब्स संस्थालाइ ६ देखि १६ रोपनीसम्म जग्गा दिलाउन स्कूलका सिइओ काशीराम शर्मादेखि एसएमसीका सदस्यहरू अनुराधा शर्मालगायतका व्यक्ति सक्रिय छन् । केशरबहादुर खुलाललाइ प्रिन्सिपल बनाउने कमिटिको मेम्बर रहेकी अनुराधा शर्मा नेपाल टेलिकमको प्राविधिक शाखा प्रमुख हुन् ।
खुलाललाइ प्रिन्सिपल बनाउनदेखि संस्थालाइ जग्गा दिने विषयमा शर्माले सबैभन्दा ठूलो भूमिका निर्बाह गरिरहेकी छिन् । खुलाल प्रिन्सिपल भएको २ महिनामै शर्मालाइ एसएमसी कमिटिको मेम्बर बनाएर जग्गा दिने निणर्यलाइ मूर्तरूप प्रदान गरिएको थियो ।
आफैँ अध्यक्ष रहेको सेब्सलाइ जग्गा दिलाउने विषयमा स्कूल एसएमसीका मेम्बर पनि रहेका सन्तोष विष्ट र स्कूल बिओटीकी सदस्य विष्ट पत्नी कमला विष्टले पनि विशेष भूमिका खेलिरहेका छन् । उनीहरूले जग्गा दिलाउने विषयमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीलाइ पनि फसाएको भन्ने गरिन्छ । मेयर अधिकारीले स्कूल परिसरमा संस्थाको भवन निर्माण गर्ने विषयमा हस्ताक्षर गरेका छन् ।
नेपाल सरकार सहसचिवहरूको बिओटी रहने बुढानीलकण्ठ स्कूलको समस्याबारे हालका शिक्षामन्त्री बेखबर देखिन्छिन् भने संस्थालाइ जग्गा दिने विषयमा शिक्षा सचिवको महत्वपूणर् मिलेमतो रहेको आरोप लागेको छ । बुढानीलकण्ठ स्कूलभित्र भ्रष्टाचारका व्यापक समस्याहरू रहेको विषय चलिरहेको बेला बिओटीदेखि एसएमसीका मेम्बरसहितको मिलेमतोमा स्कूल प्रिन्सिपल एवम् सिइओले जग्गा वितरणको ठूलो खेल खेलेको भनेर स्थानीयवासी आक्रोशित भएका छन् ।
पूर्व विद्यार्थीहरूको संस्था भनिएको सेब्सले भने बुढानीलकण्ठ स्कुलभित्रको ६ देखि १६ रोपनीमा १० करोडभन्दा धेरै लगानी गरेर स्विमिङ पुल, अडिटोरियमसहितको विशाल भवन निर्माण गर्न भनेर प्रिन्सपल खुलालमार्फत सबै पक्षमा पुगेको थियो । सेब्सले स्कूल प्राङ्गणको उत्तरतिरबाट गेट बनाउने गरी पूर्वाधारको डिजाइन गरेको छ ।