काठमाडौं । माथिल्लो तामाकोसी (४५६ मेगावाट) बाट उत्पादन सुरु नभएसम्म नेपालमा फेरि लोडसेडिङ सुरु हुने भएको छ । अहिले बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती सुरु भएको छ । औपचारिक रूपमा केही समयपछिबाट सुरु हुने भनिए पनि अहिले पनि लाइन काट्न सुरु भइसकेको छ ।
हिउँदयाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने गरेका कारण विद्युत् व्यवस्थापनमा समस्या भएको हो । पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ । यो अवस्था माथिल्लो तामाकोशीको उत्पादन सुरु नभएसम्म जारी रहने बताइएको छ ।
चिसोका कारण यही समयमा विद्युत्को माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नुपर्छ ।