पाटन (ललितपुर) । आज बिहान निधन हुनुभएका काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गरे । ८७ वर्षको उमेरमा निधन भएका पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपरान्ह १२ बजेदेखि २:३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायतले पुष्ष गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले उनको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय पनि गरेको छ ।
स्वर्गीय नेता गणेशमान सिंह निकट रहेर लामो समय काम गर्नुभएका सिंहले नेपाली कांग्रेसको पार्टी संगठनका साथै नेपालको राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याएको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रेस संयोजक जगन्नाथ दुलालले बताए । उनी २०४९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँको प्रमुख पदमा निर्वाचित भएका थिए ।