काठमाडौं खबर मंसिर २५, २०८१
काठमाडौं । अवहेलना मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछि अदालतलाई प्रभाव पार्ने गरी प्रदर्शन गरेकोविरुद्ध परेको मुद्दामा यस्तो फैसला गरेको हो । अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश गरेको हो ।
न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो ।
प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।