काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अत्याचार भएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीको ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति आपत्ति जनाएका हुन् ।
प्रहरी स्रोतका अनुसार चितवनमा पार्टीको विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूले दंगा मच्चाउने सूचना पाएपछि उनलाई रातारात पोखरा लगेको बताएको छ । यसरी रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, रास्वपाले उक्त विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा भनेका छन् ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ‚’ विज्ञप्तिमा लेखिएको छ‚ ‘हामी यसको घोर भर्त्सना गर्दछौँ । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’